स्वास्थ्य केन्द्र चिकित्सक बिहिन,मन्त्रीको योजनाले हावा खायो ?

0
467

काठमाडौँ, २ मङ्सिर । सरकारले सबै स्वास्थ्य केन्द्रमा चिकित्सक पुगेको भने पनि अधिकांश स्वास्थ्य केन्द्रहरु चिकित्सक बिहिन भेटिएका छन् ।

बुधबारदेखि काठमाडौँमा सुरु भएको ‘आव २०७२÷७३ मा सम्पादित स्वास्थ्य सेवा तथा कार्यक्रमको राष्ट्रिय वार्षिक प्रगति समीक्षा गोष्ठी’मा आफ्ना विकास क्षेत्रको स्वास्थ्य प्रतिवेदन प्रस्तुत गर्दै पाँचै विकास क्षेत्रका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशकले अझै पनि आफ्ना कार्यक्षेत्रभित्रका कतिपय जिल्लाका स्वास्थ्य केन्द्रमा चिकित्सक नपुगेको तथ्याङक सार्वजनिक गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले गत महिनामात्र देशभरका सबै स्वास्थ्य संस्थामा चिकित्सक पुगिसकेको बताएको थियो । तर अझ पनि देशभरका १६ प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक नभएको प्रतिवेदन निर्देशकले प्रस्तुत गरेका छन् ।

पूर्वाञ्चलका तीन, मध्यमाञ्चलका तीन, पश्चिमाञ्चलका पाँच, मध्यपश्चिमाञ्चलका दुई र सुदूरपश्चिमाञ्चलका तीन प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना पनि चिकित्सक नभएको निदैृशकहरुको तथ्याङकले देखाएको छ।

स्वास्थ्य मन्त्री गगन थापाले प्रत्येक स्वास्थ्य संस्थामा कम्तीमा दुईजना चिकित्सक राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । अझै पनि १६ स्वास्थ्य संस्थामा एकजना पनि चिकित्सक नहूंदा मन्त्रीको भनाई झूठो बन्दै गएको छ ।

अहिले ७५ जिल्लामा २०४ प्राथमिक स्वास्थ्य केन्द्र छन् । तीमध्ये १६ स्वास्थ्य संस्थामा एकजना पनि डाक्टर छैनन् ।