चितवनमा डेङ्गुको प्रकोपबाट बालिकाको मृत्यु,सयौँ संक्रमित ।

0
400

चितवन, ३ मङ्सिर ।  चितवनमा डेङ्गु रोगबाट एक बालिकाको मृत्यु भएको छ । नेपालमै सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण देखिएको चितवनमा यो वर्ष डेंगुबाट मृत्यु भएको यो पहिलोपटक हो । पूर्वी चितवनको खैरहनी नगरपालिकाकी ११ वर्षीया बालिकाको डेङ्गुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिएका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा बालिकाको गएको कात्तिक ३० गते मृत्यु भएपनि जनस्वास्थ्य कार्यालय चितवनले मङ्सिर २ गते बिहीबार मात्रै पुष्टि गरेको हो । केसीले दिएको जानकारीअनुसार चितवनको रत्ननगर र खैरहनी क्षेत्रमा यो वर्ष डेङ्गु सङ्क्रमण प्रकोपका रुपमा बढ्दो छ । चितवनमा यो वर्ष गएको भदौ पहिलो सातादेखि डेङ्गु रोगको प्रकोप फैलिएको थियो ।जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले अहिलेसम्म डेङ्गुबाट चितवनमा ६ सय ५३ जना बिरामी फेला परेको जानकारी दिएका छन् । केही बिरामी बाहिरी जिल्लाका भए पनि अधिकांश चितवनका छन् । चितवनको पनि रत्ननगरका स्थानीयवासी बढी प्रभावित छन् । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग सर्छ । यो लामखुट्टे कुनै पनि भाँडोमा जमेको सफा पानीमा फुल पार्ने भएकाले यसरी पानी जम्न दिन नहुने चिकित्सक डा भोजराज अधिकारी बताउछन् ।  कडा ज्वरो आउने ज्यान दुख्ने, ठाउँठाउँमा बिमिरा देखिने तथा टाउको दुख्ने यसका लक्षण हुन् । डेङ्गुको खास उपचार छैन । लक्षण हेरेर चिकित्सकको निगरानीमा उपचार गराउँदा निको हुन्छ । झोलिलो पदार्थ खाने, आराम गरेर चिकित्सकको निगरानीमा औषधि लिँदा एक साताभित्रमा रोग निको हुने भएपनि लापरबाही गरेर मेडिकलबाट जथाभावी औषधि लिँदा जटिल भएर मानिसको ज्यान जान सक्ने चिकित्सकले बताएका छन् ।