अङ्गीकृतलाई कार्यकारी पद दिने कुरा मिडियाको हल्ला : देउवा ।

0
275

कञ्चनपुर, ५ मङ्सिर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अङ्गीकृतलाई कार्यकारी पद दिने कुरा मिडियाले हल्ला मात्रै गरेका बताउनु भएको छ । देउवाले कल्पना समेत गर्न नसकिने बिषयलाई कांग्रेसले साथ नदिने बताउनु भयो । देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको जानकारी दिनु भयो ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने बताउँदै उहाँले कैलाली–कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने बताउनुभयो ।
संबिधानले दिएको समय भित्रै स्थानिय तहको निर्वाचन सम्पन्न हुने देउवाको कथन थियो ।

उहाँले महाधिवेशनपछि बाँकी रहेको पार्टी पदाधिकारी चयन र विभागले चाँडै पूर्णता पाउने दाबी गर्दै पार्टीभित्र भागबन्डाको राजनीति बढेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभापति देउवाले सबैलाई मिलाएर लैजानुलाई भागबन्डा भन्न नमिल्ने जिकिर गर्नु भयो ।