स्थायी शान्तिका लागि संविधान संशोधनः मन्त्री केसी

0
457

मंसिर ६ नुवाकोट । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले देशमा स्थायी शान्तिका लागि संविधान संशोधन जरुरी रहेको वताउँनु भएको छ । संविधानको सफल कार्यान्वयन नै सवै दलको सफलता भएको भन्दै मधेशी दललाई साथमा लिएर सहमतिवाटै संविधान संशोधन गरिने उहांको धारण थियो ।
नुवाकोटको तारुका गाविस वडा नं. १ चौतारागाउंस्थित गौरापार्वती सामुदायिक अस्पतालको आइतवार उद्घाटन गर्दै मन्त्री केसीले देश चुनौती र जटिलताको मोडमा रहेको कारण तीन मुख्य दलहरु कांग्रेस, एमाले र माओवादी एकजुट भई समस्या समाधानमा लाग्नुकोे विकल्प नरहेको बताउनुभयो ।
मन्त्री केसीले ६५ वर्षपछि नेपाली जनताले पाएको उत्कृष्ट संविधानमा केही असन्तुष्टि देखिए पनि त्यसका लागि सबै मिलेर एउटा सहज बाटो खोज्नुपर्ने बताउनुभयो । उहाले संविधान कार्यान्वयन नहुने अवस्था आए देशमा गम्भीर संकट उत्पन्न हुने भएका कारण सरकार र प्रतिपक्षको भूमिका समन्वयकारी हुनुपर्ने बताउनुभयो ।
अस्पतालको पांच कोठे भवन स्वीटजरल्याण्डका नागरिकहरुको ६५ लाख रुपैयाको लागतमा निर्माण गरिएको निर्माण समितिका उपसंयोजक शिव अधिकारीले जानकारी दिनुभयो । सो भवन स्वीटजरल्याण्डका नागरिक वुलर वर्गटको अगुवाइमा निर्माण भएको हो ।