राष्ट्रपति बिरगञ्ज जांदै,सुरक्षा ब्यबस्था कडा ।

0
251

वीरगन्ज, ८ मङ्सिर । वीरगन्जमा बिहीबारदेखि सञ्चालन हुने योग शिविरको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज अपरान्ह बिरगञ्ज आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

वीरगन्ज नगर प्रवेश गर्ने नाका, टोल र चोकमा प्रहरीले चेकजाँच र सतर्कता बढाएको पर्साका प्रहरी प्रमुख उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो । राष्ट्रपति भण्डारी र योगगुरु बाबा रामदेवको वीरगन्ज आगमनलाई लक्षित गरी जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी संयुक्त सुरक्षा योजना बनाएर सुरक्षाकर्मीलाई परिचालन गरिएको हो ।

पाँचदिनसम्म चल्ने योग शिविर अवधिभर सुरक्षालाई दृष्टिगत गरी वीरगन्जमा रहेका होटलमा पनि निगरानी बढाइएको छ । वीरगन्जसँग जोडिएका भारतीय नाकामा समेत चेकजाँच बढाइएको छ । राष्ट्रपति भण्डारीले बारा जिल्लाको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा पूजाअर्चना गर्नुहुने कार्यक्रम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेले बताउनुभयो ।

योगगुरु स्वामी रामदेव र आयुर्वेद शिरोमणि बालकृष्ण आचार्यको उपस्थितिमा बीरगन्जको आदर्शनगर रंगशालामा भोलि हुने योग शिविर र बाराको प्रसौनी–२ मा रहेको पतञ्जलि आयुर्वेद प्रालिको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।