काठमाडौँ, ९ मङ्सिर । व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरेका साना २५ दलले आफूहरुलाई बेवास्ता गर्दै नयाँ कानुन बनाउन सरकार लागेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । उनिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भटी आफुहरुलाई उपेक्षा नगर्न ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान पुगेका साना दलका नेताले सङ्घीय प्रणालीमा दलका नेतालाई दिइने सुविधा कटौली तथा पद सीमा थ्रेस होल्डका नाममा ठूला र साना दलबीच फरक फरक व्यवस्था गर्न लागिएको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
उहाँहरुले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ र सङ्घीय संसद्को पदाधिकारी एवम् सदस्यको सुविधा र पारिश्रमिक सम्बन्धमा बनेको विधेयक, २०७३ का विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफलमा राज्य व्यवस्था समितिले आफूहरुलाई सहभागी नगराइएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पूर्व मन्त्री एवम् संसद् प्रेमबहादुर सिंहले जानकारी गराउनुभयो ।
समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहनुभएका सिंहले संविधानमा समानुपातिक प्रणालीको व्यवस्था गरेको तर विधेयकमा संविधान विपरीत व्यवस्था गर्न लागिएको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलको सहयोग आवश्यक भएको भन्दै साना राजनीतिक दलका मागका विषयमा ध्यान दिने धारणा राख्नुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।