भारतीय षड्यन्त्रमा संविधान संशोधन प्रस्ताव : ओली ।

0
417

मंसिर १० काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार निश्चित उद्देश्यका निम्ति बनाइएको भन्दै संविधान संशोधन पनि त्यही योजना अनुसार आउन लागेको टिप्पणी गरेका छन्।
एमालेको विद्यार्थी र युवा संगठनले आयोजना गरेको संविधानको कार्यान्वयन र संशोधनको प्रश्न विषयक विचार गोष्ठीमा बोल्दै बिना सहमति संविधान संशोधनको प्रस्ताव सदनमा दर्ता गरिएमा त्यसको प्रतिवाद गर्ने बताए।
संविधान संशोधनका बारेमा भैरहेका छलफलमा संशोधन आवश्यक नरहेको अभिव्यक्ति दिने गरेका अध्यक्ष ओलीले संविधान कार्यान्वयन र संशोधनका बारेमा धेरै जसो दलका नेता सहभागी कार्यक्रममा प्रमुख वक्ता थिए।
सरकारले कसैसँग वाचा कबुल गरेको र त्यही लागू गराउन संशोधन गर्न खोजेको भन्ने ओलीको भनाई दक्षिणी छिमेक भारततर्फ लक्षित रहेको बुझ्न सकिन्थ्यो।

तर भारतको नाम नलिएरै उनले भने, प्रचण्डले गर्छु भनेका काम मैले गर्छु भनेको भए म नै प्रधानमन्त्री रहिरहन्थे, टाउको ठोक्काएर मित लगाई दिनुपर्ने अवस्था किन आयो, रहस्य त्यहाँ छ। उहाँहरुले केही वाचा कबुल गर्नु भएको छ, त्यो पूरा गर्नु छ। कुरा देशका गरे पनि आदेश अरुकै छ।

अहिले चर्चामा रहेको संशोधनविरुद्ध कडा रुपमा पेश हुने चेतावनी दिँदै उनले भने, ूयो सरकार प्रायोजित ढंगले घातक उदेश्यका साथ बनेको हो यसले संविधान संशोधन प्रस्ताव पेश गर्दै छ म सरकारलाई भन्न चाहान्छु याद रहोस् सदनमा एमाले पनि छ ।
हालसम्म संशोधनका बारेमा भइरहेका छलफलहरुमा सरकारमा रहेका दलहरुले संशोधनको चित्तबुझ्दो जवाफ आफूहरुलाई नदिएको अध्यक्ष ओलीको भनाई थियो।

हालको पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईका जिल्लाबाट छुट्याउन खोजिएको र त्यो पहाड(तराई छुट्याउने पहिलो कदम हुने बताए।

तर तराई मधेश लोकतान्त्रिक पार्टीका बरिष्ठ नेता हृदयेस त्रिपाठीले समस्यालाई समाधान नगरिएमा देशमा फेरी द्वन्द्व र विवाद बढ्ने भन्दै जिम्मेवार भएर संशोधनको बाटोमा लाग्न आग्रह गरे।
उनले भने, सरकारमा हुँदा संविधान संशोधन गर्न तयार हुने तर हटेपछि आवश्यक नै छैन भन्दा आफ्नै विश्वसनीयता घटछ। यो अवस्थामा तपाईहरु जिम्मेवारीपूर्वक अगाडि बढ्नुभएन भने फेरि देशमा द्वन्द्व बढ्छ र समस्या रहिरहन्छ।
सतारुढ नेकपा माओवादीका केन्द्रका नेता टोपबहादुर रायमाझीले कार्यक्रममा एमाले अध्यक्षको भनाई मिल्दो धारण राखेका थिए।
उनले ५ नम्बर प्रदेशमा कुनै विवाद नरहेको भन्दै उक्त प्रदेशका जिल्ला विभाजन गरिए आफू त्यसको विपक्षमा उभिने पनि बताए।