भुकम्पबाट क्षतिग्रस्त माथिल्लो त्रिशुली थ्रि ए जलबिधुतको निर्माण कार्य सुरु हुँदै ।

0
394

काठमाण्डौं,१० मङ्सिर ।  भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण कार्य यहि मंसिरबाट सुरु हुने भएको छ । कुल ६० मेगावाट क्षमताको आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो । संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक÷पटक आयोजना पुनःनिर्माण सुरु गर्न आग्रह गरेपनि कसरी अगाडि बढाउने भन्नेबारे निर्णयमा नपुग्दा समस्या भएको छ ।आयोजनाका लागि ऋणदाता चिनियाँ आयात निर्यात बैंकलाई पाँच वर्ष ऋणको अवधि थप गरिदिन अर्थ मन्त्रालयले आग्रह गरेपछि चिनियाँ पक्ष सहमत भएको बताइएको छ । अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित सरोकारवाला निकायका बीच भएको छलफलमा सो आयोजना अगाडी बढाउन चिनियाँ पक्ष सहमत भएको हो । निर्माणको जिम्मा लिएको चाइना गेजुवा ग्रुप अफ कम्पनी सीजीजीसीले यही मङ्सिर अन्तिम साताबाट निर्माण कार्य अघि बढाउने भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए। बाँधको दुवैतर्फका संरचना नेपाल सरकार आफैले निर्माण गनुपर्नेछ । सो कार्यका लागि अर्थ मन्त्रालयले ६१ करोड बजेट उपलब्ध गराउने भएको छ । विसं २०७३ असार १६ गतेदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि उक्त आयोजनाको निर्माण कार्यमा भूकम्पका कारण ढिलाइ भएको हो । आयोजनाको मुख्य काम रोकिएको भए पनि प्रसारण लाइनको काम भने भइरहेको छ । कुल २६ वटा टावरमध्ये २४ वटाको फाउन्डेसनको काम अगाडि बढेको छ । केही स्थानमा मुआब्जामा चित्त नबुझाएर स्थानीयवासीले अवरोध गरे पनि प्रसारण लाइन निर्माणमा खासै समस्या नरहेको बताइन्छ । थ्रि ए’ निर्माण गरी त्यसको पानी बाँध बाँधेर ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्रि बी’ र ६५ मेगवाट क्षमताको मध्य त्रिशूली गङ्गा जलविद्युत आयोजना निर्माण गर्ने तयारी भए पनि मूख्य आयोजनाको अन्यौलताले यी आयोजना समेत रोकिएका छन् ।भूकम्पले माथिल्लो त्रिशुली ‘थ्रि ए’ आयोजनाको चार हजार ७६ मिटर लम्बाईको सुरुङ, निर्माण सामाग्रीका साथै आयोजना निर्माणमा प्रयोग भएका सवारी साधनमा समेत क्षति पुगेको थियो । निर्माणस्थलमा ठेकेदारले बिमा कम्पनीका प्रतिनिधि लगेर थप अध्ययन गर्ने र निर्माण सामग्रीलगायत संरचनामा पुगेको क्षतिको समेत मूल्याङ्कन गर्नेछ । भूकम्पका कारण ठेकेदारले करिब रु एक अर्ब बराबरको क्षती पुगेको दावी गर्दै आएको छ । निर्माण सुरु गरेको डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गर्ने तयारी गरिएको आयोजना प्रमुख जोशीको भनाइ छ ।