काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन र नयाँ निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक तयारीमा जुटेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस सेन्टर नेपालको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि नै वर्तमान सरकार गठन भएकाले सोही दिशामा लागेको छ भन्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “हुँदै नभएका र सोच्दासमेत नसोचेका विषय प्रचार गरेर सरकारको ओज घटाउने काम भइरहेको छ, सरकार आफ्नो लक्ष्यमा प्रतिबद्ध छ, बाहिर कसले के भन्यो भन्दा पनि सरकारले के ग¥यो भन्ने विषय नै प्रमुख हो ।”
सरकारले एक÷दुई दिनभित्रै असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारीमा रहेको र सोका बारेमा सरोकार भएका पक्षसँग निरन्तर संवादमा रहेको जानकारी दिँदै उहाँले यो पनि हुँदैन, त्यो पनि हुँदैन भन्ने मान्यता नराख्न प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०लाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकको समस्या समाधान गर्ने पवित्र लक्ष्यका साथ काम गर्दा जता पनि अप्ठ्यारो मात्रै पार्ने प्रवृत्तिका साथ केही शक्ति लागेको छ भन्दै आफूले देश र जनताको हितभन्दा अरु केही नसोचेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “सरकारको पहिलो ध्यान निर्वाचन गराउनेमा नै छ, निर्वाचन हुन्छ, गराउनुपर्छ, सबै पक्ष निर्वाचनमा नगई सुखै छैन, आग्रह पूर्वाग्रह राखेर निर्वाचन हुन सक्दैन ।”