काठमाडौँ, २४ मङ्सिर । काठमाडौँको सतुङ्गलमा रहेको विष्णुदेवी मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । अन्य समयमा जुठो हुने भन्दै भान्सा देखि टाढा भगवान स्थापना गरेर पुजा गर्ने नेपालीहरु भगवालाई भात चढाएर पुजा गर्न थालेका छन् ।
प्रत्येक वर्ष मङ्सिर शुक्ल दशमीका दिन भात चढाउन भक्तजनको भीड लाग्ने गर्दछ । सप्तमीका दिन त्यस क्षेत्रमा दिइएको बलिबाट बनेका विभिन्न परिकारसमेत आज विष्णुदेवीलाई चढाउने गरिन्छ । भक्तजनले घरघरमा भात पकाएर मन्दिरमा लगेर चढाउँदा घरमा अनिकाल नहुने जनविश्वास छ ।
मानिसलाई सत्कर्ममा लाग्न ऊर्जा प्रदान गर्ने विष्णुदेवीलाई शक्तिको प्रतीकका रूपमा पूजा गरिँदै आएको छ । अष्टमीका दिनदेखि सुरु भएर मङ्सिर शुक्ल द्वादशीसम्म जारी रहने देवीको जात्रामा सहभागी भएमा पाप क्षय भई पारिवारिक सुख, समृद्धि प्राप्त हुने विश्वास रहेको छ।
सोही जात्राअन्तर्गत नवमीका दिन विष्णुदेवीको मूर्तिलाई खटजात्रा तथा स्थानीय वैष्णवी देवीको मन्दिरमा लगेर विधिविधानपूर्वक पूजा गराइएको थियो । विशेष बाजागाजासहित खटजात्रा निकालिएको थियो ।