फौजदारी न्यायको सिद्धान्त कार्यान्वयन गर्न प्रधान न्यायधिषको आग्रह ।

0
519

चितवन, २८ मङ्सिर । प्रधान न्यायाधीश सुशीला कार्कीले निर्दोष व्यक्ति नपर्ने गरी न्याय सम्पादन गर्न न्यायाधीशहरुलाई निर्देशन दिनुभएको छ ।

चितवनको सौराहामा सोमबारदेखि सुरु भएको ‘फौजदारी न्याय प्रणालीमा नागरिकको प्रतिरक्षासम्बन्धी अधिकार’ विषयमा भएको न्यायाधीशहरुको दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कार्कीले यस्तो बताउनुभएको हो ।

कार्कीले १० जना दोषी छुटून्, तर एकजना पनि निर्दोष नपरोस् भन्ने पफौजदारी न्यायको सर्वमान्य सिद्धान्तमा ध्यान दिन न्यायाधीशहरुलाई आग्रह गर्नु भयो । उहाँले अपराध गरेको हो÷होइन भन्ने प्रमाणका आधारमा निर्दोष मान्छे नपरोस् भनी विचारविमर्श गरेर छानबिन गर्नसमेत न्यायाधीशलाई आग्रह गर्नुभयो । नारायणी अञ्चलका अदालतको स्थलगत भ्रमणका क्रममा प्रधानन्यायाधीश कार्की सोमबार चितवन आइपुग्नुभएको हो ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले नेपालमा प्रमाण सिस्टम नमिलेको बताउँदै न्यायाधीशले विभिन्न आरोप र दबाब झेल्न बाध्य भएको प्रस्ट्याउनुभयो । न्यायाधीश समाजका उपाध्यक्ष तथा सर्वोच्चका पूर्वन्यायाधीश मोहनप्रकाश सिटौलाले न्यायालयमा बाह्य र आन्तरिक दबाब रहेको भन्दै न्यायाधीशमा अहिले मनोवैज्ञानिक त्रास रहेको तर्क गर्नुभयो ।
आज सम्म सन्चालन हुने न्यायाधीशको कार्यशाला गोष्ठीमा मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी र रुपन्देहीमा रहेको उच्च अदालत र जिल्ला अदालतका ३६ जना न्यायाधीशको सहभागिता रहेको न्यायाधीश समाज नेपालका सचिव एवम् काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले जानकारी दिनुभयो ।