मंसिर २९ काठमाण्डौ बिबिसी । संयुक्त राष्ट्रसंघका निम्ति रुसी राजदूत भिटाली चुर्किनले पूर्वी अलेप्पोमा जारी सैनिक कारवाही रोकिएको जनाएका छन्।
त्यहाँ विद्रोही नियन्त्रणमा रहेका बाँकी भूभाग सिरियाली सरकारी फौजको कब्जामा आइसकेको उनले बताए।
पुष्टी
रुसी राजदूत चुर्किनले विद्रोही लडाकूहरुलाई बाहिर जान दिने व्यवस्था मिलाइएको बताए।
विद्रोहीहरुले पनि उक्त सहमति भएको पुष्टी गरे। तर उनीहरुले गैरसैनिकहरुलाई पनि शहर बाहिर जान दिने सहमति भएको बताए।
पछिल्ला विकासक्रमले अलेप्पोमा चार वर्षदेखि भइरहेको लडाइँ अन्त्य हुन सक्छ।
सो लडाइँमा परि हजारौंले ज्यान गुमाइसकेका छन्।
उक्त क्षेत्रमा रहेका सम्वाददाताहरुले वितेका केही घण्टाहरुमा त्यहाँ बमबारी वा लडाइँ नभएको बताएका छन्।
पछिल्ला महिनाहरुमा सरकारी फौजको कारवाही तथा रुसी हवाइ हमलामार्फत विद्रोहीहरुलाई शहरको सानो क्षेत्रमा खुम्चन वाध्य पारिएको थियो।
राष्ट्रसंघले त्यहाँ जथाभावी हत्या भएको जानकारी दिएलगत्तै उक्त सहमति प्रकाशमा आएको छ।
राष्ट्रसंघले त्यहाँ ८२ जना गैरसैनिकको चार क्षेत्रमा हत्या भएको बलियो प्रमाण आफुसंग रहेको तथा अन्य कैयौं पनि मारिएको हुन सक्ने जनाएको छ।
अमेरिका तथा राष्ट्रसंघले सिरियाली सरकार तथा उसका समर्थक रुस र इरान पनि ती ज्यादतीका निम्ति जवाफदेही हुने जनाएका छन्।
बीबीसीका कुटनीतिक सम्वाददाता जनाथन मार्कस भन्छन् अलेप्पोको पूर्वी भाग कब्जामा लिनु अनि विद्रोहीलाई पराजित गर्नु त्यहाँको सरकारको निम्ति एक ठूलो प्रोपोगाण्डा विजय हुनेछ।
राष्ट्रपति बशर अल असादको नियन्त्रणमा अब सिरियाका धेरै जनसंख्या भएका सबै इलाका पर्नेछन्।
गृहयुद्ध हुनु अगाडिसम्म अलेप्पो सिरियाको सबभन्दा धेरै जनसंख्या भएको अनि वित्तिय केन्द्र रहेको थियो।
पूर्वी अलेप्पोमा लडाइँ रोकिने भएपछि पश्चिम अलेप्पोमा रहेका सिरियालीमा खुशीयाली छाएको छ
यसको नियन्त्रण लिनु असादका निम्ति मात्र नभइ उनका रुसी तथा इरानी समर्थकहरुका लागि समेत ठूलो पुरस्कार हुने ठानिएको छ।
अलेप्पोमा भएको चर्को लडाईंमा फसेका हजारौं गैरसैनिकहरुको अवस्था अब के हुन्छ भन्नेबारे चिन्ता प्रकट भएका छन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जन कर्बीले घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताए।
उनले भने, हामी कुनै कुरा होइन काम अनि कुनै वाचा होइन शान्ति चाहन्छौं। आगामी घण्टाहरुमा के हुनेछ हामी हेर्नेछौं।
यसअघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अलेप्पो संकट बारे एक भावपूर्ण आपतकालीन बैठक बसेको थियो।
महासचिव बान कि मुनले अलेप्पोमा सिरियाली सरकारी फौजले महिला तथा बालबालिका सहित गैरसैनिकको जथाभावी हत्या गरेको जानकारी बैठकमा गराएका थिए।
तर रुसी प्रतिनिधिहरुले ती सबै आरोप झुटा भएको भन्दै पश्चिमा शक्तिहरुकै कारण सिरियामा आतंकवाद मौलाएको बताए।