मंसिर २९ कामाण्डौ । जाडो महिनामा बढ्ने विद्युतको माग पूरा गर्न भारत सरकारको सहयोगमा मुजफ्फरपुरमा १०० एमभिए क्षमताको वैकल्पिक ट्रान्सफर्मर जडान कार्य थालिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
ढल्केबरस्थित नयाँ सवस्टेशन निर्माणमा ढिलाई हुने भएपछि वैकल्पिक उपायका रुपमा ट्रान्सफर्मर जडान थालिएको अधिकारीहरु बताउँछन्।
त्यसको सहयोगमा अर्को महिना भित्रमा भारतबाट थप ७५ मेगावाट विजुली नेपाल ल्याइने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्।
उनले यस वर्षको जाडोमा राजधानीमा लोडशेडिङ्ग हुन नदिने प्रतिबद्धता पनि दोहोर्याएका छन्।
नेपाल विद्युत प्राधिकरणका अनुसार ७५ मेगावाटसम्मको विजुली आयात गर्न सकिने गरि १०० एमभिए क्षमताको वैकल्पिक ट्रान्सफर्मरको मुज्जफरपुरमा निर्माण थालिसकिएको छ।
त्यसबाट अर्को महिनासम्म थप विजुली आयात गरिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताए।
उनले भने, १०० एमभिएको ट्रान्सफर्मर जडान गर्ने काम पावर ग्रिड कर्पोरेशन अफ इन्डियाले गरिरहेको छ, त्यसका लागि भारतको उर्जा मन्त्रालयबाट निर्देशन भइसकेको छ। त्यो ट्रान्सफरमर जोडिएपछि थप ७५ मेगावाट विजुली एकमहिना भित्र ल्याउँछौं।
तीन वर्ष अगाडि देखि निर्माण थालिएको ढल्केबरको २२० केभीएको सवस्टेशन बनाउन अझ समय लाग्ने भएकोले वैकल्पिक ट्रान्सफर्मरको सहयोगमा ल्याइने विजुली हालकै १३२ केभीएको सवस्टेशन मार्फत नै वितरण गरिने बताइएको छ।
त्यसपछि काठमान्डूसम्म विजुली ल्याउन अन्य सवस्टेशनहरुको प्रयोग गरिने बताउँदै कार्यकारी निर्देशक घिसिङले यो वर्ष विगतमा जस्तै लोडशेडिङ्गको भयावह स्थिति आउन नदिने बताए।
उनको भनाइ थियो, यो समस्या आउँछ भनेर हामीले डेढ महिना अघि नै योजना गरेर यी सबै काम गरेका हौं। सबै व्यवस्थित छ। काठमान्डूमा लोडशेडिङ्ग नगर्ने भनेर व्यवस्थापन गरिरहेका छौं। बाहिर जिल्लामा पनि लोडशेडिङ्ग हुंदैन।
जाडो शुरु भएसंगै नदीमा पानीको मात्रा कम भइ नेपालका जलविद्युत गृहहरुको उत्पादन क्षमता घट्ने हुनाले विगतमा १८ घण्टासम्मको लोडशेडिङ्ग भएको इतिहास छ।
पछिल्लो समय लोडशेडिङ्ग व्यवस्थापनमा राम्रो काम गरिरहेको भन्दै प्रशंसा कमाइरहेको प्राधिकरणले जाडो यामकै लागि भनेर कुलेखानीको विजुली समेत वचत गरिराखेको पनि जनाएको छ।