चितवन, ३० मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताउनुभएको छ ।
नेपाली काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को आज यहाँ उद्घाटन गर्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसको बीचमा गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको दोहो¥याउनु भयो ।
उहाँले संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको बताउनुभयो । मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै उहाँले १४ महिनाभित्रमा तीन तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने उल्लेख गर्नु भयो ।
कार्यक्रममा महामन्त्री डा शशाङ्क कोईरालाले देशको विगतलाई हेर्दा जुन बेला राजनीतिक स्थिरता आयो त्यतिबेला मात्रै विकास भएको बताउनुभयो । बिपीको १८ महिने सरकार र गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा जे–जति नीति निर्माण र विकास भए अहिलेसम्म हुन नसकेको कोइरालाको कथन थियो ।