२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

संसद्मा गृहमन्त्रीको प्रस्टीकरण- म जातीय विभेद र छुवाछुतविरुद्ध छु

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफू कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतविरुद्धमा सधैँ रहेको प्रस्टीकरण दिएका छन् । 

सत्यन्द्र राम र नेहा रौनियारबीच भएको विवाहसम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासो र सदनमा उठेको विषयबारे प्रष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् । 

‘छुवाछुत तथा भेदभावविरुद्धको हक एवम् व्यक्तिको नैसर्गिक मानवअधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ,’ संसद् बैठकमा उनले भने, ‘म अत्यन्त ज्यादा संवेदनशील छु । म कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहने छु । र रहेको छु ।’

अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र र नेहामाथि गृहमन्त्री लेखककै निर्देशनमा अत्याचार भएको आरोपका बारेमा सांसदहरूले बिहीबारको संसद् बैठकमा चासो राखेका थिए ।
 
सांसदहरू शिव नेपाली, अनिशा नेपाली, शान्ति विक, हर्कमाया विक, रनेन्द्र बराइलीलगायतले गृहमन्त्री लेखकको जवाफ माग गरेका थिए ।

गृहमन्त्री लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे  । 

उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए  । 

आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रस्ट पारे । 

‘अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रस्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर गर्छ’, गृहमन्त्री लेखकले भने ।
 
तथ्यलाई तोडमोड गरेर समाजलाई विभाजनतर्फ नधकेल्न र त्यस्ता समाचार सामग्री तयार नगर्न पनि उनले सञ्चारमाध्यमसँग अनुरोध गरे ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।