निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले वैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले हिजो तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय, गाउँपालिका र नगरपालिका केन्द्रमा उम्मेदवारी दर्ता गर्नु पर्नेछ । १७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १९ गते नै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ । ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । आयोगले मतपत्र लगायतका छपाइको कामको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइने भन्दै, निर्वाचन सम्बन्धी मुद्रण कार्यलाई सरकारी वा सरकारी स्वामित्वका छापाखानार्ला प्राथमिकता दिने व्यवस्था मिलाउन सरकारलाई भनेको छ । आयोगले सरकारलाई ‘जनशिक्षा केन्द्रको छापाखानाको मर्मत सम्भार गर्नु पर्ने भए शीघ्र मर्मत गरी चालु अवस्थामा राख्नू समेत भनेको छ ।
निर्वाचन आयोगले आज सरकारका नाममा १९ बुँदे निर्देशन जारी गर्दै, बैशाख २५ गतेदेखि ३१ गतेसम्म देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्न र मतदानस्थलका रुपमा प्रयोग हुने विद्यालय कम्पाउण्ड मर्मत गर्न पनि भनेको छ । आयोगले देशैभरिका शिक्षकहरुको विवरण एक साताभित्र निर्वाचन आयोगसमक्ष पठाउन भनेको छ । आयोगले चुनावको तयारीमा खटिने निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीको सुरक्षा प्रवन्ध गर्नका साथै चाहिएका बेला उपलब्ध हुने गरी हवाइ टिकट र हेलिकोप्टरको समेत व्यवस्था गर्न सरकारका नाममा निर्देशन जारी गरेको छ ।