१२ फागुन, काठमाडौं । लागातार दुई दिनदेखि सूचना टाँसेर स्थगित गरिएको व्यवस्थापिका संसद्को बैठक बिहिबारका लागि पनि बोलाइएको छ । तर, बैठकको कार्यसूचीबारे कुनै सहमति भएको छैन । कार्यसूचीमा सहमति नभएपछि दुई दिनदेखि बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।
सभामुख ओनसरी घर्तीले दलहरुलाई कार्यसूचीमा सहमति जुटाउनका लागि बुधबार नै निर्देशन दिइसकेकोले, आज (बिहिबार) देखि बैठकमा संबिधान संशोधन प्रस्ताव अघि बढाउने संभावना रहेको, सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । दुवै पक्षका असहमतिबीच बिहिबार (आज) दिउँको २ बजे कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको छ । कार्यव्यवस्था परामर्श समितिले संसद्को कार्यसूची औपचारिक रुपमा तय गर्नेगर्छ । समितिमा सहमति नभएको अवस्थामा आजको बैठकको कारवाही पनि अनिश्चित छ।