म्याग्दीका स्थानियमा यसरी बढ्दै छ खुशीको लहर

0
734

१२ फागुन, म्याग्दी । स्थानीय तह निर्वाचनको घोषणा भएपछि म्याग्दीका ग्रामीण क्षेत्रमा स्थानीय हर्षित भएका छन् । वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचन अहिले गाउँका राजनीतिकर्मी, अगुवा, युवा, महिला, दलित र बौद्धिक वर्गका लागि चर्चा र बहसको बिषय बन्न थालेको छ । स्थानीय निर्वाचनले जनप्रतिनिधि विहीन अवस्थाको अन्त्य, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने सर्वसाधारणको अपेक्षा छ ।

निर्वाचनको मिति घोषणाले ग्रामीण क्षेत्रका बासिन्दालाई उत्साहित बनाएको शिख–२ का दुर्गाबहादुर खातीको भनाई छ । चुनाव पछि थानीय तहको सेवा सुविधा सहज हुने, विकास निर्माणले गति लिने स्थानियको अपेक्षा छ । गाउँका जनता प्रतिनिधि छनोट गर्न मतदानका लागि ब्यग्र प्रतिक्षामा रहेको खाती बताउँछन् । मतदानको मिति घोषणा भएकोमा उस्तै खुशी छन् शिख–९ का पूर्णबहादुर पाइजा । गाउँगाउँमा सम्भावित उम्मेदवारको चर्चासँगै राजनीतिक सक्रियता बढेको पाइजा बताउँछन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपालगायतका दलभित्र उम्मेदवार छनोटको विषयमा चर्चा सुरु भएको छ । भेटघाट, भेला, प्रशिक्षण, सङ्गठन विस्तारको कामले गाउँमा नेता पुग्न थालेपछि चहलपहल बढेको हो ।
मधेस केन्द्रित दलको असन्तुष्टि र पुनःसंरचनाको सवालले निर्वाचनमा चुनौती थपिएपनि संविधान कार्यान्वयन र विकासका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको स्थानियको भनाई छ । एक नगरपालिका र पाँच वटा गाउँपालिका प्रस्तावित म्याग्दीमा निर्वाचनका लागि १२ वटा राजनीतिक दल दर्ता भएका छन् ।