१२ फागुन, कञ्चनपुर । राज्यले बेवास्ता गरेको भन्दै अन्दोलनमा उत्रिएका कञ्चनपुरका आरक्षपीडित र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्गको अत्तरिया महेन्द्रनगर खण्डमा पर्ने कलुवापुरमा प्रदर्शनमा उत्रिएका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पीडितहरुलाई रोकि राजमार्ग खुलाउन गएका प्रहरीबीच झडप भएको हो ।
आक्रोशित आन्दोलनकारी प्रहरीमाथि जाइलागेपछि भिड नियन्त्रणमा लिन लाठीचार्जका साथै सात राउण्ड हवाइफायर गरेको कञ्चनपुरका एसपी प्रकाश चन्दले जानकारी दिए । झडपमा दुवैतर्फ केहि घाइते भएका छन् । ७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरक्षपीडितको आन्दोलनले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
२०५८ सालमा देउवा प्रधानमन्त्री हुँदा तत्कालील शुक्लाफाँटा बन्यजन्तु आरक्षभित्र रहेका जनतालाई आरक्षबाहिर जमिनको व्यवस्था गरी सार्ने भनिएपनि उनीहरुले जमिन पाएका थिएनन् । त्यतिबेलैदेखि आरक्षपीडितहरु आन्दोलनमा थिए । सरकारले जग्गा उपलव्ध नगराएपछि उनीहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सीमामा पर्ने कलुवापुरमा बस्दै आएका थिए ।