अख्तियारको प्रहरी भन्दै न्यूरोडमा दिंउसै लुटपाट,लुटेरा पुर्व सैनिक प्रहरी नियन्त्रणमा ।

0
438

१२ फागुन, काठमाडौं । राजधानीको सबैभन्दा व्यस्त बजार न्यूरोड ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर निस्कदै गरेका २ जनालाई लुट्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको मंगलबार दिउँसो काठमाडौं न्यूरोडमा रहेको ग्लोबल आईएमई बैंकबाट प्रेम नारायण खराल र बिधान खरालले ४ लाख २७ हजार रुपैयाँ निकालेर निस्किए । उनीहरुलाई केही अपरिचित व्यक्तिको समूहले नियन्त्रणमा लिएर आफूहरु अख्तियारबाट आएको प्रहरी भन्दै डल्लुसम्म हिँडाएर लगे । डल्लुबाट उनीहरुलाई ट्याक्सीमा चढाई खुकुरी देखाई डर धाक धम्की दिई बसुन्धारा लगेर ४ लाख २७ हजार रुपैयाँ लुटे । रकमसँगै एउटा आइफोन, एउटा सामुसुङ मोबाइल र तीनवटा चेकसमेत लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितहरुले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा प्रहरीले गएको बुधबार रुकुम माइकोटका विश्वास घर्तीमगर, गोरखा ताप्लेका नारायण बाँनिया, गोरखा नगरपालिका २ का सुदिप थापा मगर, गोरखा ताप्लेका अशोक बाँनिया, रुकुम माईकोटका धनकुमार परियार र गोरखा ताप्लेका शिवबहादुर बाँनियालाई पक्रेको हो । उनीहरुको साथबाट लुटिएको नगद, चेक, मोवाइलसमेत बरामद गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।