फागुन, १४ काठमाडौं । संघीय गठबन्धनले सरकारद्वारा घोषित स्थानीय तहको निर्वाचनलाई अस्वीकार गरेको छ । काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा शुक्रबार बसेको गठबन्धनको बैठकले संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नगरी घोषणा गरिएको निर्वाचन मान्य नहुने भन्दै यसका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने निर्णय गरेको छ ।
दुई सद्भावना र तमलोपाका शीर्ष नेताहरु सहभागी नभएको उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित गठबन्धनमा आबद्ध संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरी सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिइने विज्ञप्तिमा जनाइएको छ ।
‘गठबन्धनले सरकारलाई बुझाएको २६ बुँदे माग अहिलेसम्म पनि कार्यान्वयन नभएको र गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण आयोगले अहिलेसम्म पनि विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नगरेको अवस्थामा घोषित निर्वाचनको मिति आफैमा असंवैधानिक छ’, विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनका कार्यक्रम तय गर्न सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको सो बैठकले कार्यदललाइै एक हप्ताभित्रमा कार्यक्रमहरु बनाई संघीय गठबन्धनको बैठकमा प्रस्तुत गर्न निर्देशन दिएको छ ।
संशोधन विधेयक परिमार्जनसहित पारित गरेमा सरकारले आउँदो वैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा सहभागी हुने नेताहरुले बताएका छन् ।