आज स्ववियु निर्वाचनमा उम्मेदवारी दर्ता

0
366

फागुन, १४ काठमाडौं । आठ वर्ष पछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा शनिबार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् । संशोधित कार्यतालिका अनुसार शनिबारस्ववियु चुनाव हुने काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ । हरेक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यसपटक आठ वर्ष पछि हुँदैछ । यसपटक स्ववियु निर्वाचनकै इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रति चुनाव प्रणाली अपनाइँदैछ । निर्वाचनको सुरक्षाका लागि क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

त्रिभुवन विश्वविद्यालयले सार्बजनिक गरेको कार्यतालिका अनुसार फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ । १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोही दिन पाँच बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।