अन्यौलग्रस्त बन्दै स्ववियु निर्वाचन, तालाबन्दी र आगजनीको त्रासमा क्याम्पस

0
1130

फागुन, १४ काठमाडौं । स्ववियु निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने पहिलो दिन शनिबार त्रिवि केन्द्रीय क्याम्पस लगायत राजधानीका केही क्याम्पसमा तालाबन्दी गरिएको छ । विद्यार्थी संगठनले विभिन्न माग राखेर तालाबन्दी गरेका हुन् । त्रिवि केन्द्रीय क्याम्पसका प्रमुख र निर्वाचन आयोगको कार्यालयमा तालाबन्दी गरिएको केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिका प्रमुख प्रा.डा. लालुप्रसाद पौडेलले जानकारी दिए । उनले विद्यार्थी संगठनहरुसँग छलफल गरेर प्रक्रिया अगाडि बढाउने बताए । ‘हिजो राति प्रिन्सिपल कार्यालय र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको भन्ने सूचना आएको छ’, उनले भने, ‘अहिले विद्यार्थी संगठनहरूसँग छलफल गर्छौं । के समाधान निस्किन्छ भन्न सकिन्न ।’

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा ताला लगाउने विद्यार्थी संगठनहरुले विभिन्न ४ बुँदामा असहमति जनाउदै तालाबन्दी गर्नुका साथै स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन चेतावनी दिएका छन् । अनेरास्ववियु, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम, अखिल ( क्रान्तिकारी) विप्लव, मधेसी विद्यार्थी फोरम लगायतका संगठनले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा मतदाता नामावली प्रकाशन, आचारसंहिता उल्लंघन, निर्वाचन कार्यतालिका उल्लंघन र स्ववियुसम्बन्धी नियमावलीमा असहमति रहेको जनाएका छन् । उनीहरूले ४ घण्टाभित्र माग पूरा गर्न माग गरेका छन्। त्यस्तै राजधानीका त्रिचन्द्र क्याम्पसमा स्नातक चौथो र स्नातकोत्तर दोस्रो वर्षका विद्यार्थीले तालाबन्दी गरेका छन् ।
उनीहरुले स्ववियुमा निर्वाचित भइसकेपछि पूर्ण कार्यकाल काम गर्न पाउनुपर्ने माग गरेका छन्। स्ववियु नियमावलीमा भने पढाइ सकिएपछि स्ववियु पदाधिकारी र सदस्यको पद स्वतः खारेज हुने व्यवस्था छ । यो व्यवस्था फेर्न नसकिने स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति एवं त्रिवि शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले बताएकी छिन् ।

उनले यो व्यवस्था फेर्न तत्काल सम्भव नभएको थाहा खबरलाई बताइन्। त्यस्तै पाटन संयुक्त क्याम्पसमा ताला लागेको छ । विभिन्न साना दलनिकट विद्यार्थी संगठनले तीन अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको एकलौटी रोक्नुपर्ने, फर्जी भर्ना रोक्नुपर्ने लगायत माग राखेर तालाबन्दी गरेका छन् । त्यस्तै बानेश्वरस्थित नेपाल कमर्स क्याम्पस मीनभवनमा फोरम लोकतान्त्रिकको विद्यार्थी संगठनले लगाएको तालाका कारण मतदाता नामावली नै प्रकाशन भएको छैन । बिहीबार बेलुकी लेखा शाखामा भएको आगलागीले मीनभवन क्याम्पसको निर्वाचनमा अनिश्चितता थपिएको छ । त्रिभुवन विश्वविद्यालयमा १८ गते बुधबार स्ववियु निर्वाचनमा मतदान हुने कार्यतालिका रहेको छ । उम्मेदवारी मनोनयनका दिन राजधानीका विभिन्न क्याम्पसमा लागेका तालाले स्ववियु निर्वाचन अन्योलमा परेको छ ।