संशोधन विधेयकमाथि संशोधन हाल्ने समय आज सकिँदै

0
417

काठमाडौं, १५ फागुन । सरकारले ब्यवस्थापिका संसदमा प्रस्तुत गरेको नेपाल संविधान संशोधन विधेयकमाथि संशोधन हाल्ने समय आईतबार सकिँदैछ । गत पुस १४ गते सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक विहीबार संसदमा प्रस्तुत गरेपछि छलफल भई संशोधन हाल्न ७२ घण्टाको समय दिइएको थियो ।

संसद्ले ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७३’, माथि थप संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई संशोधन हाल्न दिएको समय आईतबार सकिँन लागेको हो । आज कार्यालय समयभित्र विधेयकमाथि संशोधन पेश गर्न सकिनेछ ।

संविधानप्रति असन्तुष्ट रहेका मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले दोस्रो पटक संविधान संशोधन गर्न लागेको हो । मोर्चाको माग समेट्न संशोधन गर्न लागिए पनि मोर्चा भने संशोधन विधेयकप्रति असन्तुष्ट छ । उसले सरकारले ल्याएको संशोधन परिमार्जनसहित पारित हुनुपर्ने माग गरेको छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका विपक्षीहरुले भने संशोधनको औचित्य नरहेको भन्दै विरोध जनाउँदै आएका छन् ।

मधेसी मोर्चाले सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संशोधन हाल्ने तयारी गरेको छ । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रक्रिया गत बिहीबारबाट सुरु भएको हो । संशोधन विधेयक दुई तिहाइ बहुमतले पारित भएमा मात्रै दोस्रो पटक संशोधन हुनेछ ।