काठमाडौं, १५ फागुन । एमाले निकट युवासंघ नेपाल रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी तिवारी हत्यामा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो ।
तिवारीको हत्या गर्न निर्देशन दिने मुख्य योजनाकार रुपन्देही देवदह ६ को मनोज बुढामगर र घटनाको योजनाकार अन्य चार जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र धानुकले मनोजको निर्देशन र मुख्य योजनामा हत्या गर्ने घटनाको योजनाकार सिद्धार्थनगर नगरपालिका १३ को विकास भन्ने सोम बहादुर आले, तिवारीमाथी गोली प्रहार गर्ने सुटर राजु, गढिमाई नगरपालिका १ को श्याम गुरुङ र हतियार तथा गोली दिने र राख्ने देवदह ३ सेमरानाको बाबु भन्ने तुल बहादुर सिंजाली अझै फरार रहेको र उनीहरुलाई छिट्टै पक्राउ गरिने जानकारी दिए ।
पक्राउ परेकाहरुमा देवदह ६ को बसन्त बहादुर चापागाई, तिलोत्तमा १५ को बुद्धिसागर यादव, तिलोत्तमा १५ कै राजेश यादव, तिलोत्तमा ८ को प्रयास भन्ने खेमानन्द भट्टराई, देवदह ८ को सागर थापा, धकधई ८ परासीको अंगद थारु र देवदह ९ को ऋषिश्वर कुमाल रहेका छन् ।
रुपन्देहीको देवदह ७ खैरेनी निवासी दुर्गा तिवारीको गत पुस ४ गते दिउँसो साढे तीन बजे मोटरसाईकलमा गएको दुई जनाको समूहले गोली हानी हत्या गरेका थिए । पार्टी तथा संगठनको कामसँगै ईट्टा व्यवसायलाई समेत संगसँगै अगाडि बढाउँदै आएका तिवारीमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले प्रहरी, पत्रकार तथा अन्य विभिन्न व्यक्तिहरुलाई टेलिफोन गरी तिवारीको हत्या आफूले गराएको जिम्मा लिएका थिए । पाँच नं. प्रदेश विभाजनको विरोधमा आन्दोलन गर्दै आएको एमालेले तिवारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला बन्द सहितको आन्दोलन चर्काएपछि सरकारले छानविन समिति गठन गरेको थियो ।
पक्राउ परेकाहरुले हतियार ल्याउने, तिवारीको बारेमा सूचना दिने, हत्या गर्न मोटरसाईकलमा लैजाने र भगाउने सम्मको काममा संलग्नता रहेको प्रहरीले जनाएको छ ।