बुटवल, १५ फागुन । धरान फुटबल क्लबलाई २–१ गेल अन्तरले पराजित आयोजक रुपन्देही–११ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रुपन्देहीका लागि पहिलो गोल खेलको ११ औं मिनेटमा लक्ष्मण रुचालले गरे । ३० औं मिनेटमा बल क्लियर गर्ने क्रममा रुपन्देहीका रक्षक कालु थापामगरले आत्मघाती गोल गरेपछि खेल बराबरीको स्थितिमा पुग्यो । रुपन्देहीका लागि ३७ औं मिनेटमा अजय बिकले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि आयोजक अग्नि रुपन्देहीले थप गोल गर्न सकेन ।
रुपन्देहीकै दीपक राईले गरेको दुई सुन्दर प्रहार बारमा लागेर बाहिरिएको थियो भने थुप्रै गोलको प्रयास सफल हुन सकेन। खेलमा आयोजक रुपन्देहीकै लक्ष्मण रुचाल म्यान अफ दि म्याच घोषित भए। रुपन्देहीले अब फाइनल प्रवेशका लागि फागुन १७ गते हुने दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिसबीचको बिजेतासँग खेल्ने छ । त्यसैगरी फागुन १७ गते सोमबारको क्वाटरफाइनल खेल दिउँसो ३ बजेपछि एपीएफ क्लब र सिएमजी संकटा क्लबबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुनले जानकारी दिए ।