एजेन्सी– १६ फागुन । जर्मनीमा गत वर्ष आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण भएको एक प्रतिवेदनले देखाएको छ । सन् २०१६ मा आप्रवासीमाथि दिनको १० वटाका दरले आक्रमण भएको जर्मनीको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो ।
गत वर्ष आप्रवासीमाथि भएका तीन हजार पाँच सय ३३ आक्रमणमा पाँच सय ६० जना घाइते भएका थिए । घाइते हुनेमा ४३ जना बालबालिका छन् । आप्रवासीमाथि भएका धेरैजस्तो आक्रमण उनीहरुको घरभन्दा बाहिर भएको मन्त्रालयले जनाएको छ ।
करीब एक हजार आक्रमण भने उनीहरुको आवास क्षेत्रमै भएको छ । चान्सलर एन्गेला मर्केलले द्वन्द्वका कारण समस्यामा परेका देशका नागरिकलाई जर्मनीमा शरण दिने नीति लिएपछि ध्रुवीकरण बढेको र यसले घृणाको अपराध बढाएको पनि बताइएको छ ।
यसले आतंककारी आक्रमणको खतरा बढेको विश्लेषण पनि गरिएको छ । जर्मनीले गत वर्ष दुई लाख ८० हजार आप्रवासीलाई शरण दिएको छ । त्यसअघिको वर्ष ६ लाख भन्दा धेरैले जर्मनीमा शरण लिएका थिए । आउँदो सेप्टेम्बरमा जर्मनीमा हुने संसदीय चुनावमा आप्रवासीको विषय नै प्रमुख बन्ने आंकलन गरिएको छ ।