काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले, स्थानीय चुनावमा भाग लिन चाहने दललाई दल दर्ताका लागि पर्सी (बुधबार)सम्मको समय दिएको छ । आयोगले सर्वाजिनक सूचना मार्फत स्थानीय तहको निर्वाचनका लागि पर्सी बुधाबर सम्मको समय दिएको हो । आयोगले गत माघ १७ गतेभित्र जिल्ला वा क्षेत्रीय कार्यालयमा दलको विवरण उपलब्ध गराउन भनेको थियो ।
आयोगले, यसअघि दल दर्ता गर्न छुटेकालाई दर्ताका लागि मार्ग प्रशस्त गरिएको जनाएको छ । यो आह्वान यसअघि आयोगमा दर्ता भइसकेका दलहरुका लागि मात्रै हो । आयोगले स्थानीय निर्वाचनमा भाग लिने प्रयोजनका लागि नयाँ दल दर्ता खुल्ला गरेको छैन ।
आगामी निर्वाचनमा भाग लिन चाहने दलहरुले दलको महाधिवेशन भएको मिति र स्थान उल्लेख गर्नुपर्नेछ । यस्तै दलको संगठनात्मक स्वरूप, दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा सदस्यको संख्या, आयोगसमक्ष दलको वाषिर्क लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति उल्लेख गर्नुपर्नेछ ।
यसै गरी दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्ला कार्यकारिणी समितिको निर्वाचन भएको छ भने पछिल्लो निर्वाचन भएको मिति, आवश्यक पर्नेछ । यससँगै दलको आधिकारिक छापको नमूना, दलको झण्डा, दलको चिन्ह, केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दल दर्ता गर्न निवेदन दिने व्यक्तिलाई अधिकार दिएको पत्र हुनुपर्नेछ । र, अन्त्यमा , लेखिएका व्यहोरा सत्य भएको भन्दै हस्ताक्षर गर्नुपर्ने आयोगले जनाएको छ ।