संबिधान संशोधन प्रस्तावमा १५ वटा संशोधन दर्ता

0
496

काठमाडौं, १६ फागुन । संविधान संशोधन विधेयकमाथि विभिन्न दलका सांसदहरुले १५ वटा संशोधन दर्ता गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले संशोधन प्रक्रियामा नै भाग नलिने बताएको छ भने मधेसी मोर्चाले संशोधन हालेको छ । हिजो साँझ ६ बजे सम्म ३६ जना सांसदहरुले संसद सचिवालयमा गएर १५ वटा संसोधन प्रस्ताव दर्ता गराएका हुन् ।

मधेसी मोर्चाले सीमांकन हेरफेर सहितको संशोधन हालेको छ । मोर्चाले, प्रदेश नम्बर २ मा झापा, मोरङ र सुनसरीका साथै चितवनका ११ गाविस मिसाउनु पर्ने र प्रदेश नम्बर ५ लाई नवलपरासीदेखि कञ्चनपुरसम्म राख्नु पर्ने भन्दै संशोधन हालेको छ । मधेशी मार्चाले राखेको प्रस्तावमा, पहाडी जिल्ला अलग गरिएको छ ।

मोर्चाले हालेको प्रस्ताव अनुुसार :
प्रदेश न. १ मा  ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर रहेका छन् ।

प्रदेश नम्बर २  मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सार्, झापा, मोरङ सुनसरी र चितवनका ११ गाविस छन् ।

प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, रुकुम (पूर्वी भाग) पर्छन् ।

प्रदेश नम्बर ५ मा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर सहित प्रदेश नम्बर ७ बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा रहेका छन् ।

मोर्चाले दर्ता गरेको जस्तो सीमांकन हेरफेर गर्ने हो भने हाल कायम सात वटै प्रदेशको सीमांकन हेरफेर गर्नु पर्ने हुन्छ ।