निर्वाचन आयोगका काम आज पनि जारी

0
208

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगमा आज सार्वजनिक विदाको दिन पनि काम हुने भएको छ । आउँदो वैशाख ३१ गते हुने स्थानीय चुनावको अरु तयारीसँगै दल दर्ताको काम समेत हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरुलाई फागनु १८ गतेसम्म आयोगमा दर्ता हुन भनेको छ ।

संविधानको धारा २ सय ६९ बमोजिम आयोगमा दर्ता कायम भई आफू क्रियाशील रहेका जिल्लाका निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दलहरूले चुनावका लागि निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा जानकारी गराउनु पर्ने हुन्छ । आयोगका अनुसार दर्ता गर्नका लागि दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ ।

यस्तै केन्द्रिय कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा त्यस्तै समितिका पदाधिकारीको संख्या, दलको संगठनात्मक स्वरूप, दल दर्ताको लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र, दलको आधिकारिक छापको नमूना पेश गर्नुपर्ने हुन्छ ।