पेलेका छोरा १३ वर्षका लागि जेलमा

0
292

काठमाडौं, १६ फागुन । ब्राजिलियन फुटबल खेलाडी पेलेका छोरा १३ वर्षका लागि जेल गएका छन् । विभिन्न अपराधको घटनामा ब्राजिलको अदालतले तोकेको १३ वर्षको सजाय भुक्तानका लागि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेलेका छोरा एड्सन नासिमेन्टोलाई लागु औषधको कारोबार र मनि–लान्ड्रीङको मुद्धामा अदालतले यसै साता १३ वर्षको सजाय तोकेको थियो ।

पहिले अदालतले ३३ वर्षको सजाय तोकेको थियो । यसलाई घटाएर १३ बनाएपछि उनले गत शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । सन् २०१४ मा उनलाई ३३ वर्षको सजाय सुनाइएको थियो। ४६ वर्षीय पूर्व गोलरक्षकले प्रहरीसमक्ष आत्मसम्पर्ण गर्नुअघि सान्तोषमा आफूलाई एकपल्ट फेरि लागु औषधको कारोबारी भनिएकोमा दुःख व्यक्त गरे । उनले मनि–लान्ड्रीङको आरोपमा सहमति जनाएपनि आफूले लागु औषधको कारोबार नगरेको स्पष्ट पार्न खोजेका थिए ।

एड्सनलाई फोनमा उनले गरेको वार्ताको आधारमा प्रहरीले पक्राउ गरेको थियो । उनले आफूले लागु औषध सेवन गर्ने गरेको बताउदै आफूलाई कारोबारी भन्नु अन्याय हुने बताए । ब्राजिललाई तीन पल्ट विश्वकप फुटबलको उपाधि दिलाएका पेलेका छोरा एड्सन सात छोरामध्येका एक हुन् । उनलाई २००५ मा पहिलो पल्ट प्रहरीले लागु औषध कारोबारी समूहको बीचबाट पक्राउ गरेको थियो । त्यतिबेला उनी ६ महिना जेल बसेका थिए र धरौटीमा रिहा भएका थिए । पेलेले त्यतिबेला आफ्नो छोरालाई अबोध भन्दै सुरक्षा गर्न खोजेका थिए ।