काठमाडौं, १६ फागुन । स्वास्थ्य मन्त्री गगनकुमार थापाले निर्वाचन गराउन नसकेको खण्डमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको औचित्य नरहने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री थापाले निर्वाचन गराउनकै लागि वर्तमान सरकार गठन भएको बताए । यदी कारणवश निर्वाचन हुन वा गराउन नसकेको अवस्थामा सरकार असफल हुने र त्यसपछि आफू सरकारमा नबस्ने मन्त्री थापाले घोषणा गरे । ‘असफल सरकारको असफलमन्त्री भएर बस्दिन’, उनले भने ।
आउँदो माघ ७ गतेभित्र तीन तहकै निर्वाचन गराउनु पर्ने संवैधानिक व्यवस्था रहेकाले उक्त समयावधि भित्रै निर्वाचन गराउने गरी सरकार लागि परेको मन्त्री थापाले जानकारी दिए । राजदूत फिर्ताका विषयमा आफूलाई जानकारी नभएको बताएका उनले मन्त्रिपरिषद्को बैठकमा नियुक्तिका लागि सिफारिस गर्दा केही मन्त्रीहरुले असन्तुष्टि जनाएको जानकारी दिए ।
एकअर्काे प्रसङ्गमा स्वास्थ्यमन्त्री थापाले रगत निःशुल्क गर्ने तयारी भएको जानकारी दिए । यसका लागि गठित समितिले पेश गरेको प्रतिवेदनमा आर्थिक समस्या हुने उल्लेख गरिएकाले अन्तर्रा्ष्ट्रिय साझेदार संस्था खोजिरहेको उनको भनाइ छ । सहयोग प्राप्त गर्न सकिए यस वर्षबाट प्रारम्भ गरेर आउँदो वर्षदेखि रगत निःशुल्क गर्ने तयारी भइरहेको मन्त्री थापाको भनाइ छ ।