विद्यार्थी विवादकै कारण ६० प्रतिशत क्याम्पसमा नहुने भयो स्ववियु निर्वाचन

0
407

काठमाडौं, १७ फागुन । विद्यार्थी संगठनहरुकै विवादका कारण फागुन १८ मा निर्धाति स्ववियु निर्वाचन धेरैजसो क्याम्पसमा नहुने भएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार अब फागुन १८ मा जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव हुनसक्ने भएको छ । तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले अब ती क्याम्पसहरुमा मात्र चुनाव हुने भएको हो ।

सत्तारूढ कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी एमालेनिकट अनेरास्ववियु तथा मधेसी विद्यार्थी संगठनलगायतले विभिन्न कलेजमा अवरोध गरेपछि ६० प्रतिशत क्याम्पसमा चुनाव हुन नसक्ने भएको हो ।

विद्यार्थी संगठनकै मागमा फागुन १४ मा गर्ने भनिएको स्ववियु चुनावको मिति चार दिनपछि सार्दा पनि विद्यार्थी संगठनहरु नै निर्वाचनका लागि बाधक बनेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

मूख्य गरी ठूला मानिएका राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायत क्याम्पसमा तालाबन्दी गरिएको छ । त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धनका एक हजार ८४ क्याम्पस छन्