एजेन्सी, १७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको एक महिना नबित्दै उनलाई पदबाट हटाउन अभियान सुरु गरिएको छ । राष्ट्रपति ट्रम्पका केही योजना र उनले दिदैं आएका विवादास्पद अभिव्यक्तिका कारण वैश्विक स्तरमा पनि उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव आउन सक्ने र छोटो समयमै बर्खास्त हुन सक्ने अनुमान गरिएकै समयमा क्यालिफोर्नियाको रिचमण्ड सिटी काउन्सिलले सर्वसम्मतिबाट ट्रम्पविरुद्ध अविश्वास प्रस्ताव संसदमा दायर गर्न अपिल गरेको छ ।
उसले ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने आधारका बारेमा विचार गर्न पनि संसदलाई अपिल गरेको छ । त्यसो त पूर्व राष्ट्रपति बाराक ओबामा र जर्ज डब्ल्यू बुशविरुद्ध पनि महाभियोग प्रस्ताव ल्याउन आवाज उठेको थियो । ओबामाको दोस्रो कार्यकालको मध्यतिर र जर्ज बुशको कार्यकालको अन्त्यतिर त्यस्तो चर्चा चलेको थियो तर ट्रम्पले जिम्मेवारी सम्हालेको एक महिना बित्दा–नबित्दै यस्तो चर्चा चुलिएको छ ।
अमेरिकी संविधानमा राष्ट्रपतिले मानसिक क्षमता गुमाएको अवस्था, आफ्नो सरकारलाई कुनै अनियमिततामा सामेल गराएको अवस्था वा विदेशी शक्तिको विश्वासमा धक्का लगाएको अवस्थामा उसलाई पदबाट हटाउनु अमेरिकाको हितमा हुने उल्लेख छ । विज्ञहरुका अनुसार राष्ट्रपति ट्रम्पविरुद्ध यी सबै आधारमा महाभियोग लगाउन सकिन्छ । यी आरोपमध्ये संसदले कुनै एक बुँदालाई सही ठह¥याएमा महाभियोग प्रक्रिया सुरु हुन सक्छ ।