आइजी सिफारिस मुद्दामा आज पनि सुनुवाई हुँदै

0
503

काठमाडौं, १७ फागुन । नेपाल प्रहरीको महानिरीक्षक विवाद मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुँदैछ । न्यायाधीशद्धय हरिकृष्ण कार्की र तेजबहादुर केसीको सयुक्त इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामा सुनुवाई निरन्तर हुनेछ ।

गत बुधबार हेर्दाहेर्दैमा पेशी एक साताका लागि पर सारिएको थियो । दुई दिनसम्म अधिवक्ता कपिलदेव ढकालको रिट निवेदन र आइजीका प्रतिस्पर्धी नवराज सिलवालका तर्फबाट कानुन व्यवसायीको बहस सकिएको छ । महान्यायाधिवक्तासहित सरकारी वकिलको बहस पनि सकिएको छ। आज विपक्षीका तर्फबाट कानुन व्यवासायीको बहस सकिएपछि पुनः निवेदकले जवाफ दिने मौका पाउनेछन् । दुई दिन लगातार बहस सकिएकाले सम्भवतः आज मुद्दामा आदेश हुनेछ ।

कार्की र केसीको सयुक्त इजलासले यसअघि फागुन १ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेश निरन्तरता दिए डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा सिफारिस गर्ने निर्णय रोकिनेछ । आदेश खारेज भए सरकारलाई चन्दको सिफारिस कार्यान्वयन गर्ने कानुनी बाटो खुल्नेछ । सरकारले फागुन १ गते डिआईजी जयबहादुर चन्दलाई आइजीजी बढुवाका लागि सिफारिस गरेको थियो । आइजीजी सिफारिस गरेको दुई घन्टा बित्न नपाउँदै सर्वोच्चले सरकारको निर्णय यथास्थितीमा राख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि सिफारिस कार्यान्वयनमा रोक लागेको थियो ।

फागुन ८ गते दुवैदेखि दुवै पक्षलाई छलफलमा बोलाएपनि प्राविधि कारणले फागुन ११ गतेबाट मात्र मुद्दाको सुनुवाई सुरु भएको थियो।