मोर्चाको अडानले प्रधानमन्त्रीसँगको छलफल निष्कर्षविहिन

0
209

काठमाडौं, १७ फागुन । व्यवस्थापिका–संसदमा पेस गरिएको संविधान संशोधन विधेयककाबारेमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाआवद्ध दलका नेताहरुबीच छलफल भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मोर्चाले संविधान संशोधन नभइ निर्वाचनमा नजाने अडान राखेपछि बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

बैठकमा मोर्चाका नेताहरुले संविधान संशोधनपछिमात्र निर्वाचनमा जाने अडान राख्दै स्थानीय तहको संख्या थप गर्नुपर्ने माग गरेका थिए । मोर्चाले स्थानीय तह निर्धारणसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलको म्याद सकिएकाले म्याद थप गर्न पनि सरकारलाई आग्रह गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

सहमतिको प्रयासलाई निरन्तरता दिने भन्दै नेताहरुले फेरि बैठक गर्ने जनाएका छन् । संसदमा पेस गरिएको संविधान संशोधन विधेयकविरुद्ध नेकपा एमालेसहित विपक्षी दल एक तिहाइ मतकासाथ विपक्षमा उभिएका छन् भने सरकारमै रहेको राप्रपाले विधेयकमा समर्थन गर्न नसक्ने भन्दै स्थगन गर्न माग गरेको छ ।