मधेसी जनताको भावनासँग खेलेर मुलुक टुक्राउन खाजेको प्रधानमन्त्रीको आरोप

0
337

काठमडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताको भावनामा खेलेर मुलुक विखण्डन गर्ने तत्वहरु सक्रिय भइरहेको आरोप लगाएका छन् । मंगलबार अपरान्ह राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुक विखण्डन गर्ने सोचलाई साकार हुन नदिने बताए । मधेशी जनताको भावनामा खेल्दै विखण्डनको नारा लगाउने तथा राजनीतिक उपलब्धि संस्थागत हुन नदिनेहरुको चलखेल बढेको उनको भनाई छ ।

आफ्नो सम्बोधनमा उनले मधेश र मधेशी जनताको हितका लागि आफू लडिरहेको तर्क प्रस्तुत गर्दै मधेशी जनता निर्वाचनमा सहभागी हुने आशा व्यक्त गरे । २० वर्षदेखि हुन नसकेको निर्वाचन गराउनु सरकारको मात्रै नभई सिङ्गो मुलुकको जिम्मेवारी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले संविधान संशोधन र निर्वाचन सँगसँगै गरेर संविधानको स्वीकार्यता बढाएर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताए ।

संविधान संशोधन गरेर निर्वाचन गराउन सरकार प्रतिबद्ध थियो तर दलहरुको हठका कारण चार महिनामा केही उपलब्ध नभएपछि संविधानिक व्यवस्था र मौसमको ख्याल गर्दै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको उनको भनाइ छ । संविधान जारी गर्नेदेखि कार्यान्वयनमा आफू तथा सरकार क्रियाशील रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारी सेवा सस्तो तथा सर्वसुलभ बनाएको दाबी गरे ।

‘जनताको ढोकामै सरकार, सरकार जनताकै ढोकमा’ भन्ने नाराका साथ मुलुकको विकासमा अग्रसर भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान विश्वको उत्कृष्ट रहेको दाबी गरे । लोडसेडिङ अन्त्य गरेको तथा विभिन्न ठूला जलविद्युत् योजनाका कार्य अघि बढाइएको र भूकम्प पीडितहरुलाई राहत उपलब्ध गराउने कार्य पनि सरकारले द्रुतगतिमा गरेको उनको दाबी छ ।

केही स्वास्थ्य सेवा तथा उपचारलाई निःशुल्क, मलेम्चीको खानेपानी काठमाडौं भित्र्याउने कार्य, सुकुम्बासीको हितमा पनि सरकारले उल्लेख्य गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले विकासका कार्यलाई आफूले तिव्रताको साथ अघि बढाएको जिकीर गरे ।