काठमाडौं, १८ फागुन । अन्तराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके प्रक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । सिआईबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए । पक्राउ परेकामध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपालकै सुन पसलमा बेच्दै आएका थिए ।
उनीहरुमाथि अनुसन्धानबाट सुन पसलको पनि पहिचान हुने प्रहरीले जनाएको छ । सिआईबीका निर्देशक डिआईजी नवराज सिलवालले तस्करीमा संलग्न थप ब्यक्तिलाई पक्राउ गरिएको बताए । ’ सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ’ उनले भने ’ आइतबारसम्म अनुसन्धान पूरा गरी मुद्दा दायरको प्रक्रियामा जान्छौं ।’ मुख्य नाइके अझै फरकर छन् । तस्करीमा संलग्न प्रमोद श्रेष्ठ लगायत ब्यापारी दुबईमा रहेको प्रहरी श्रोतको दाबी छ ।