काठमाडौं, १८ फागुन । स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण र विश्वसनीय बनाउन गृह मन्त्रालयले निर्वाचन केन्द्रित सुरक्षा योजनाको गृहकार्य थालेको छ । सरकारले ३१ वैशाखमा गर्ने घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न मन्त्रालयले सुरक्षा योजनाको गृहकार्य थालेको हो। गृह मन्त्रालयले दोस्रो संविधानसम निर्वाचनकै समयमा अख्तियार गरेजस्तो सुरक्षा घेरा लागू गर्ने भएको छ ।
अघिल्लो पंक्तिमा नेपाल प्रहरी परिचालित हुनेछ। संवेदनशील क्षेत्रमा कुनै घटना भएमा सशस्त्र प्रहरीलाई अगाडि सारिने र स्थिति अति संवेदनशील भएमा सेनालाई परिचालन गरिनेछ। अति संवेदनशील मानिएका बुथ नजिकै सेनालाई पिकेटिङ गरेर राखिने र आवश्यकता अनुसार खटाउन सकिने गृहको तयारी छ। गृह मन्त्रालयले केही दिनयता चारवटै सुरक्षा निकायका उच्च प्रतिनिधिसँग छलफल जारी राखेको छ ।
गृह प्रवक्ता बालकृष्ण पन्थीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका उच्चस्तरका प्रतिनिधिहरुसँग सघन रुपमा छलफल थालिएको जानकारी दिए। ’ निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन चारवटै सुरक्षा अंगसँग छलफललाई जारी राख्दै आएका छौं, अब छिट्टै अन्तिम टुंगोमा पुग्नेछौं’ उनले भने। गृह मन्त्रालयले निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउने क्रममा नेपाली सेनासँग नियमित छलफल थालेकाले स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने करिब करिब निश्चित छ। सेना परिचालन भएपनि त्यसको समन्वय भने गृह मन्त्रालयले नै गर्ने पन्थीले बताए।