काठमाण्डौं, १८ फागुन । इजरायलले फेरी ६० जना नेपाली केयर गिभर लैजाने भएको छ । चार वर्ष तीन महिनाको श्रम सम्झौता गरेर ४८ जना महिला र १२ जना पुरुष कामदारले केयर गिभरका रुपमा इजरायल जान पाउने छन् ।
नेपाल र इजरायल सरकारबिच भएको दुई पक्षीय सम्झौता अनुसार नयाँ कामदार लैजान लागिएको हो । २०७२ साउन २२ गते नेपाली कामदारलाई केयर गिभरका रुपमा लैजान नेपाल र इजरायलबिच दुई पक्षीय सम्झौता भएको थियो । सम्झौता भए पछि गएको साउनमा ५९ जना नेपाली कामदार केयर गिभरका रुपमा इजरायल पुगिसकेका छन् ।
इजरायल जान योग्यता पुगेकाले आउँदो चैत ९ गतेभीत्र वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर काठमाडौंमा आफैं उपस्थित भएर निवेदन दिन सक्ने विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिनुभयो । आवेदन फारम विभागको वेवसाइट www.dofe.gov.np बाट डाउनलोड गर्न सकिन्छ ।
छनौट प्रक्रियामा लाग्ने स्वास्थ्य परीक्षण, बीमा, कल्याणकारी कोष, हवाइ टिकट लगायतका खर्च कामदारले व्यहोर्नु पर्नेछ । बाँकी खर्च सम्बन्धित निकायले तिर्ने भएकाले नेपालका म्यानपावर कम्पनी वा एजेन्टसँग कारोबार नगर्न विभागले आग्रह गरेको छ ।