ओलीले गृहमन्त्रीलाई भने: उत्तेजना नफैलाउनोस्अ, प्रिय घटनाको जिम्मेवारी लिनु पर्ला

0
433

काठमाडौं, १८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री विमलेन्द्र निधिलाई कसैमा पनि उत्तेजना नफैलाउन सचेत गराएका छन् । गृहमन्त्रीको काम शान्ति सु–व्यवस्था कायम गर्ने रहेको उल्लेख गर्दै ओलीले भने ‘गृहमन्त्री भनेको देशको हुन्छ, पार्टी विशेषको हुँदैन, भूगोल विशेषको हुँदैन । नेकपा एमाले उहाँलाई मन पर्छ कि पर्दैन बेग्लै कुरा हो तर यो देशको संविधानले प्रतिपक्षिको हैसियत दिएको, जनताले चुनेर पठाएको र वहाँभन्दा अगाडि देशको नेतृत्व लिएको पार्टी हो । त्यो वहाँले सम्झनु पर्दछ ।’

कुनै अप्रिय घटना घटेमा गृहमन्त्री जिम्मेवार हुनुपर्छ भनेर एमालेले भनेको र यो कुरालाई हलुका ढंगले नलिन पनि ओलीले गृहमन्त्रीलाई सचेत गराएका छन् । एमालेले फागुन २१ गते देखि शुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानको जानकारी दिन पार्टीले बुधबार बोलाएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई सम्झाउँदै एमालेले कसैको विरोधमा यो अभियान संचालन नगरेको पनि बताए ।

केही दिनअघि गृहमन्त्री विमलेन्द्र निधिले एमालेले गर्न लागेको मेचीमहाकाली अभियान बिथोल्ने अभिव्यक्ति दिएका थिए । ओलीले भने ‘हामीलाई वक्तृत्वकलामा विश्वास छैन । चुनावमै भेटौंला ।’ वैशाख ३१ गतेका लागि घोषणा भएको स्थानीय चुनाव कुनै पनि हालतमा सफल हुनुपर्ने एमालेको जोड छ ।

सत्ता पक्षीय दलहरु नै चुनावको पक्ष र विपक्षमा विभाजित हुनु उचित नभएको ओलीको भनाई छ । ओलीले चुनाव कुनै पनि हालतमा हुनुपर्ने र त्यसको परिणाम सबैले स्वीकार गर्नुपर्ने उल्लेख गरेका छन् ।