काठमाडौं, १८ फागुन । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता अगाडि बढ्न मन्त्रीहरुलाई निर्देशन दिएको छ । बुधबार निर्वाचन आयोगमा बोलाएर सरकारका मन्त्रीहरुलाई स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारमा सरकारी सुविधा प्रयोग गरेर जान नपाईने जानकारी गराएको हो ।
आयोगका सचिव गोपीनाथ मैनालीले आचारसंहिता व्यक्तिको आचरणसँग जोडिएको विषय भएकाले निर्वाचन आचारसंहिता पालना गर्न मन्त्री लगायत सम्पूर्ण सरकारी कर्मचारीलाई आग्रह गरे । उनले सामाजिक सद्भाव विथोल्ने, पार्टीगत प्रचारमा मन्त्रीहरु सहभागी हुन नपाउँने जानकारी गराए ।
त्यसैगरी रिक्त पदपूर्ति, सरुवा, बढुवाका काम पनि गर्न नपाईने उनले जानकारी गराए । निर्वाचनका बेला नयाँ सिलन्यास, उद्घाटन, नियुक्ति गर्न नपाइने र मन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्रमा पनि जान नपाउने प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बताए ।
छलफलमा सहभागी मन्त्रीहरुले नेताहरुको आधार नै जनता र स्थानीय तह भएको बताउँदै कार्यक्रममा सहभागी हुन रोक लगाउन नहुने बताएका थिए । त्यसको जवाफमा प्रमुख आयुक्त यादवले भने, ‘हाम्रोमा कार्यक्रमका नाममा मन्त्रीहरुले पार्टीको प्रचारमा लागेको देखिन्छ । सरकारी सुविधा लिएर स्थानीय तहमा नपुग्नुस् ।’
त्यसैगरी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आयोगको आचारसंहिता सरकार तथा सरकारमा सहभागि मन्त्रीले लागु गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘जनताको दैनिक जीवनसँग जोडिएका विषयमा आयोगले केही सहज गरिदिनुपर्छ । आयोगलाई आवश्यक सुरक्षा, बजेट, कर्मचारी र सामान उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’
त्यसैगरी उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चालु योजनालाई आयोगले रोक लगाउन नहुने तर अब नयाँ कार्यक्रम सुरुवात नहुने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरि छलफलमा नागरिक उड्ययन तथा पर्यटन मन्त्री जीवन बहादुर शाहीले स्थानीय तहको निर्वाचनमा दुई वटा गाडी र मोटरसाइकल मात्रै प्रयोगको कुरा व्यवहारिक नभएको बताए ।