स्थानीय निर्वाचनमा २ लाख प्रहरी परिचालन

0
737

काठमाडौं, १९ फागुन । सरकारले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३/०७४ पारित गरेको हो ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा बसेको उक्त बैठकले पारित गरेको सो योजनामा आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकायका गरी जम्मा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने उल्लेख गरिएको छ । बैठकमा गृहमन्त्री निधिले निर्वाचनको आवश्यक तयारी पूरा गरेर योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

उक्त सुरक्षा समितिको बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाली सेनाका उपरथी बलदेब महत लगायतको सहभागिता थियो ।