उदयपुरमा बढ्दै छ कालोबजारी

0
276

उदयपुर, १९ फागुन । केही दिनदेखि डिजेल तथा पेट्रोलको वितरण असहज भएपछि उदयपुरको सदरमुकाम गाईघाट बजारलगायतका क्षेत्रमा तेलको कालाबजारी बढ्दै जान थालेको छ ।

गाईघाटलगायत नगर क्षेत्रमा चारवटा पेट्रोल पम्पबाट तेल वितरण गरिने भनेपनि अधिकांश पम्पले ट्याङ्करबाट ढुवानी भएका तेल आधामात्र वितरण गर्ने र धेरै लुकाउने गरेपछि अहिले तेलको कालाबजारी बढ्दै जान थालेको स्थानीयवासिन्दा कृष्ण खड्काले बताउनुभयो ।

पम्पले तेल राम्ररी वितरण नगर्दा केही पसलबाट बोतलमा लुकाएर राखिएका डिजेल तथा पेट्रोल प्रतिलिटर रु १५० सम्ममा बिक्री गरेर कालाबजारी गर्न थालेको अर्का स्थानीय बासिन्दा विजय श्रेष्ठले बताउनुभयो ।

गाईघाटमा रहेका पेट्रोल पम्प ऊर्जा, कालिका, रियाज, गल्फले पम्पमा तेल लुकाएर ठूला व्यवसायी र अन्य आफन्तलाई मात्र वितरण गर्ने गरेकोले सर्वसाधारणले छ घन्टासम्म लाइनमा बसेर तेल पाउन नसकेको पीडित ग्राहक बताउँछन् ।

चौधरीले भन्नुभयो, “बिहानदेखि दिनको १२ बजेसम्म पनि लाइनमा बस्दा तेल पाइँदैन, बाहिर भने महँगो मूल्यमा लुकीलुकी पसल तथा ग्यारेजमा महँगो मूल्यमा किन्न पाइन्छ, यो कालाबजारी नै हो र यसमा पम्प सञ्चालक पनि संलग्न छन् ।”

तर उदयपुरका कायममुकायम प्रमुख जिल्ला अधिकारी प्रकाशजङ्ग कार्कीले भने पम्पमा सबैलाई तेल वितरण गर्न भनेको र समस्या आएको भएअनुगमन पनि गर्ने बताउनुभयो ।