काठमाडौं, १९ फागुन । चुनाव चिह्नको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चर्को विवाद भएको छ । राप्रपाको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष कमल थापा र नेता प्रकाशचन्द्र लोहनीबीच चुनाव चिह्नको विषयलाई लिएर विवाद भएको हो ।
अध्यक्ष थापाले पार्टीको चुनाव चिह्न गाई हुनुपर्ने बताएका थिए भने नेता लोहनीले हलोलाई चुनाव चिह्न बनाउनुपर्ने माग गरेका थिए । यस विषयमा सदस्यहरुबीच पनि चर्को विवाद भएपछि बैठकले ठोस निर्णय गर्न सकेन ।
बैठकमा अध्यक्ष थापाले संविधान संशोधनको विषयमा सरकारले आफ्नो पार्टीसँग कुनै छलफलसमेत नगरेकाले समर्थन गर्न नसकिने बताए ।
उनले मधेसी मोर्चालगायतका दलहरुलाई सहमतिमा ल्याएर स्थानीय तहको निर्वाचन गराउनुपर्ने र त्यसो हुन नसके मुलुक अप्ठ्यारोमा जानेतर्फ सरकारको ध्यानाकर्षण गराए ।