एजेन्सी, २१ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसन्सको बचाउ गर्नुभएको छ । सेसन्सले गएको वर्ष ट्रम्पको चुनावी अभियानको क्रममा रुसका राजदूतसँग दुई पटक भेटवार्ता गरेको खुलेपछि खर्बास्त गर्न दबाब परिरहेका बेला ट्रम्पले सेसन्सको बचाउ गर्नुभएको हो । ट्रम्पले सेसन्स इमान्दार मानिस रहेको दाबी गर्नुभयो ।
ट्रम्प राष्ट्रपति बनेपछि महान्यायाधीवक्तामा नियुक्त भएका सेसन्सले चुनावी अभियानको क्रममा गएको वर्ष अमेरिकाका लागि रुसी राजदूतसँग दुई पटक भेटवार्ता गरेको अमेरिकाको न्याय विभागले पुष्टि गरेको हो । त्यसबेला सेसन्स सिनेटको सैन्य सेवा समितिको सदस्य हुनुहुन्थ्यो । सेसन्सले रुसी राजदूत सर्गेइ किस्लेएकसँग भेटवार्ता गर्नुभएको थियो । त्यसबेला सिनेटर रहेका सेसन्सले गएको जनवरीमा भएको सुनुवाईको क्रममा रुसी राजदूतसँगको भेटवार्ता पुष्टि गर्नुभएको थिएन ।
डेमोक्र्याटिक पार्टीका सिनेटरले भने सुनुवाईको क्रममा सेसन्सले रुससँगको सम्बन्धका बारेमा झुट बोलेको भन्दै राजीनामाको माग गरिरहेका छन् । ट्रम्पले भने डेमोक्र्याटिक पार्टी सेसन्सको नचाहिने आलोचना गरेको आरोप लगाउनुभयो ।