भाद्र १६ मै दिपक दीपाको अर्को छक्का पञ्जा

0
579

काठमाडौं, ४ चैत्र । फिल्म छायांकनमा नजाँदै ‘छक्का पञ्जा–२’ ले रिलिज मिति घोषणा गरेको छ । जेठ १० गतेबाट फ्लोरमा जाने तयारी गरेको ‘छक्का पञ्जा–२’ भदौ १६ मा रिलिज हुने निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

सिनेमा निर्माण गर्दा ६ लाई कहिल्यै पनि नछोड्ने दीपक र दीपाले यो सिनेमाको रिलिज मितिमा पनि ६ लाई पछ्याएका छन् । यो भन्दा पहिले सिनेमा ‘६ एकान ६’ पुस २६, ‘वडा नम्बर ६’ असोज ६ र छक्का पञ्जा भदौ २४ मा रिलिज भएका थिए । छक्का पञ्जाको रिलिज मिति दुई र चार जोडेर ६ हुने भएकाले दीपक र दीपाले भदौ २४ गते राखेका थिए ।

सिनेमाको आधिकारिक रिलिज मिति तय भएको भन्दै दीपक राज गिरीले हामीसँग हाल सिनेमाको स्क्रिप्टमा काम भइरहेको जानकारी पनि दिएका छन् । ‘छक्का पञ्जा-२’ मा पनि ‘छक्का पञ्जा’कै कलाकारहरु हुनेछन् । तर एक जना नायक र एक जना नायिका भने सिनेमामा थपिने छन् । सिनेमामा थपिने नायक नायिका नाम चलेका नै हुने दीपकले जानकारी दिएका छन् ।
केही समय अघि अचानक सिक्वेलको आधिकारिक घोषणा गरेका दीपकलाई ‘छक्का पञ्जा’को सिक्वेल नै बनाउने निर्णय किन गर्नुभयो भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘दर्शकले हामीबाट एउटा हँसाउने सिनेमाकै आशा गर्नु भएको हुन्छ । छक्का पञ्जा दर्शकको रोजाईको सिनेमा पनि पर्यो । त्यस कारण हामीले कमेडि सिनेमा नै बनाउने भएपछि छक्का पञ्जाको सिक्वेल ‘छक्का पञ्जा(२’ बनाउने निर्णय गरेका हौँ ।’