काठमाडौं, ४ चैत्र । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले तराईमा निर्वाचन हुन नसक्ने बताएका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारबाट बाहिरिएसँगै उसले निर्वाचनमा सहभागी नहुने संकेत पाएपछि यादवले शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान अवस्थामा तराईमा निर्वाचन हुन नसक्ने बताएका हुन् । बाँकी क्षेत्रमा हुने निर्वाचनले समस्या समाधान नहुने पनि यादवको भनाई छ । सहमतिको समय अझै रहेको भन्दै प्रमुख आयुक्त यादवले पहल गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।
वैशाख ३१ नै निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध रहेको बताएका यादवले संसद् भित्र र बाहिर रहेको सबै राजनीतिक दल निर्वाचनमा सहभागी चाहेको भन्दै वातावरण बनाउन आग्रह गरे ।
निर्वाचनको अपनत्व सबै नेपाली जनता र राजनीतिक दलले लिनुपर्ने आयोग धारण रहेको भन्दै उनले राजनीतिक सद्भाव र विश्वासको वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।
यद्यपी उक्त भेटवार्तामा प्रमुख आयुक्त यादवले स्थानीय तहको निर्वाचनका तयारीमा आयोग द्रुतगतिमा जुटिरहेको जानकारी गराएका छन् ।
आयोगले निर्वाचनका लागि कर्मचारी खटाउने र जिल्लामा निर्वाचन सामग्री पठाउने कार्य भइराखेको तथा मतपत्र छापिरहेको जानकारी यादवले दिए ।