काठमाडौं, ६ चैत्र । नवनायिका पूर्णिमा लामा अभिनित चलचित्र ‘हिरोज’को टाइटल गीतको भिडियो सार्वजनिक भएको छ । ‘पग्लु–पग्लु’ बोलको गीतमा नवनायिका पूर्णिमा र नायक संजोग राणाको रोमान्स देख्न सकिन्छ ।
बलिउड फ्लेबर रहेको गीतमा हिलोले पोतिएका पूर्णिमा र संजोगले एक आपसमा पप्पीको चाहना गर्छन् । निक्कै नै बोल्ड लुक्समा प्रस्तुत भएकी पूर्णिमा र नायक संजोगको केमेस्ट्रि लोभ लाग्दो देखिएको छ ।
टंक बुढाथोकीको कम्पोज, एरेन्ज र स्वर रहेको गीतमा मनिषा पोखरेलले साथ दिएकी छन् । कमल राई, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रलाई एनबी महर्जनले निर्देशन गरेका हुन् । हाइलाइट्स नेपालको युट्ब च्यानलमार्फत सार्वजनिक ‘पग्लु–पग्लु’ बोलको यो गीतलाई भने कविराजले कोरियोग्राफी गरेका हुन् ।
चलचित्रमा पूर्णिमा र संजोगका साथै मुकेश ढकाल, करिश्मा मानन्धर, जय किशन बस्नेत, दिल कृष्ण श्रेष्ठलगायतको प्रमुख भूमिका रहेको छ ।
शिव ढकाल र रामशरण श्रेष्ठले खिचेको दृष्यलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन् । युवराज लामा, द पाल्म ग्रुप र संजोग राणाले निर्माण गरेको हिरोजको केहि दिन अघिमात्रै टिजर सार्वजनिक भएको थियो ।
चलचित्रको निर्माण पक्षले यो चलचित्रलाई आगामी साउन वा भदौमा रिलिज गर्ने तयारी भइरहेको जनाएको छ । निर्माण पक्षले चाँडै नै रिलिज डेट घोषणा गर्ने जानकारी दिएको छ ।