अमेरिकी जलसेना प्रमुख आज नेपाल आउँदै

0
546

काठमाडौं, ६ चैत्र । अमेरिकी जलसेना (नेभी) प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आज नेपाल आउनु हुने भएको छ । अमेरिकी नौसेनाका एड्मिरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली म्यासिफिक कमाण्डका कमाण्डर हो ।

सन् २०१५ मा अमेरिकी नौ सेना प्रमुखमा नियुक्त हुनु भएका ह्यारिस केही समययता नेपाल आउन लागेका बरिष्ठ अमेरिकी सैन्य अधिकारी हो ।

ह्यारिसको तीन दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री प्रकाशशरण महत र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

भारतीय सेनाध्यक्ष अर्को साता नेपाल आउने

भारतीय सेनाध्यक्ष विपिन रावतले पनि आगामी साता नेपालको चार दिने भ्रमण गर्नु हुने भएको छ । भारतीय सेनाध्यक्ष रावत यही चैत १५ देखि १८ सम्म नेपालको भ्रमण गर्नु हुने भएको हो । भ्रमणको कार्यतालिका भने सार्वजनिक भइसकेको छैन ।

यस अगाडि गत डिसेम्बरको अन्तिम साता रावत भारतीय सेना अध्यक्ष भएलगत्तै नेपाली सेनाको प्रस्तावमा नेपालको मन्त्रिपरिषदको बैठकले उहाँलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय गरेको थियो । रावतले तत्काल नेपालको निम्तोलाई स्वीकार गरेपछि भ्रमणको तयारी भएको हो ।

चारदिने नेपाल भ्रमणको समयमा रावतले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री तथा नेपाली सेनाका प्रधानसेनापतिसँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँले पोखरामा रहेको भारतीय पेन्सन क्याम्पको निरीक्षण तथा मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम पनि छ ।

राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति भण्डारीले रावतलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने कार्यक्रम छ ।